अन्तर्राष्ट्रिय

अर्मेनिया–अजरबैजान शान्ति वार्तालाई अन्तिम रूप दिइएको भन्दै इयूद्वारा स्वागत

१ चैत, ब्रसेल्स । युरोपेली सङ्घका शीर्ष अधिकारीहरूले अर्मेनिया र अजरबैजानबीचको दशकौँ लामो द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौता गर्ने सहमति भएकोमा शुक्रबार बधाई दिँदै चाँडै सन्धिमा हस्ताक्षर गर्न आग्रह गरेका छन् ।

अजरबैजानको अर्मेनियाली बहुल क्षेत्र काराबाखको नियन्त्रणका लागि दुई पटक युद्ध लडेका बाकु र येरेभानले बिहीबार वार्ता सम्पन्न भएको बताएका छन् ।

इयूका विदेश नीति प्रमुख काजा कल्लासले भने, “यी घोषणाहरूले यस क्षेत्रमा दिगो शान्ति र सुरक्षाको दिशामा निर्णायक कदमको प्रतिनिधित्व गर्दछ।”

रुस, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र टर्की सबै प्रभावका लागि होडबाजी गरिरहेको क्षेत्रमा दुई काकेशस राष्ट्रहरूबीचको सम्बन्धलाई सामान्यीकरण गर्ने सम्झौता एउटा ठूलो सफलता हुनेछ। ककाशस युरेसियाको ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने क्षेत्र हो ।

अर्मेनिया र अजरबैजानले सोभियत सङ्घको बिघटनको समय र पुनः सन् २०२० मा काराबाखमा दुई ठूला युद्ध लडेका थिए । यो लडाईँ अजरबैजानले सन् २०२३ सेप्टेम्बरमा २४ घण्टे आक्रमणमा काराबाखको सम्पूर्ण क्षेत्र कब्जा गरेपछि अन्त्य भएको थियो ।

बाकुले काराबाख कब्जा गरेपछि लगभग सबै जातीय अर्मेनियालीहरू अर्थात् करिब एक लाख भन्दा बढी मानिसहरू काराबाखबाट भागेका थिए।

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभलाई शान्ति सम्झौताका लागि बधाई दिएका छन् ।

उनले एक्समा लेखेका छन्, “अब म तपाईंलाई शान्ति सम्झौताको द्रुत हस्ताक्षरका साथ अघि बढ्न प्रोत्साहित गर्दछु।”

“दक्षिण ककाशसमा दिगो शान्ति र सुरक्षाका लागि थप सबै कदमलाई समर्थन गर्न इयू तयार छ,” विज्ञप्तिमा भनिएको छ।

अर्मेनिया र अजरबैजान दुवैले लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि विस्तृत शान्ति सम्झौता हुन बाँकी रहेको बताउँदै आएका छन्, तर यसअघिका वार्ताहरूमा सम्झौताको मस्यौदामा सहमतिमा पुग्न असफल भएका थिए।

तीन दशक लामो अर्मेनियाली पृथकतावादी शासनपछि पाशिन्यानले काराबाखमाथि बाकुको सार्वभौमिकतालाई मान्यता दिएका छन् ।

अर्मेनियाले पनि गत वर्ष अजरबैजानलाई दशकौँअघि कब्जामा लिएका चार वटा सीमावर्ती गाउँ फिर्ता गरेको थियो ।

द्वन्द्वलाई लिएर उत्पन्न तनावले अर्मेनिया र रुसबीच दरार पनि निम्त्याएको छ, यरेभानले आफ्नो सहयोगीले यसलाई समर्थन गर्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्।
त्यसपछि येरेभान पश्चिमसँग नजिकिएका छन् र इयूमा सामेल हुने इच्छा व्यक्त गरेका छन्।