समाचार

१३८ औं जन्मजयन्ती: इतिहास शिरोमणी बाबुराम आचार्यकाे अन्तर्राष्ट्रिय स्तरको योगदान

१ चैत, काठमाडौँ, ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

शिरोमणि आचार्यको १३८औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा  आयोजित कार्यक्रममा उनले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताए। कुलपति राईले आफू इतिहास शिरोमणि आचार्यको विद्धता र उहाँको योगदानका लागि टिप्पणी गर्न योग्य व्यक्ती नभएको भन्दै प्रतिष्ठानसँग सहकार्य गरेर सक्दो जस्तोसुकै सहयोग गर्न सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका प्रखर अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. रमेश ढुँगेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारका उहाँ जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहनुभएको विश्वास गर्न सकिन्छ भनेका छन् ।  ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गर्नुभयो । साथै उहाँले कार्यपत्र उल्लेख ‘आचार्यजीको जीवनको पूर्वार्द्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद र मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको बताए ।

इतिहास शिरोमणि प्रतिष्ठानका अध्यक्ष प्रा.डा. त्रिरत्न मानन्धरले शिरोमणि आचार्य त्यस बेलाका अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उहाँको योगदानको कदर गर्न प्रतिष्ठान लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उपाध्यक्ष प्रा डा सुरेन्द्र केसीले इतिहास शिरोमणि आचार्यको इतिहास लेखनमा ज्यादै महत्त्वपूर्ण योगदान रहेको बताउँदै राज्यले अहिलेसम्म उचित योगदान गर्न नसकेको जिकिर गरेका छन् ।  सो प्रवचन कार्यक्रममा शिरोमणि आचार्य प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले शिरोमणि आचार्यले ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति आफूले पढेको बताउँदै उहाँ सृजनशीलतामा निडर र हक्की स्वभावको भएको उहाँका कृतिले  पुष्टि गर्ने उल्लेख गरेकाे बताएका छन्  ।