४ चैत, काठमाडौँ । हिजोको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको प्रति राप्रपाले आपत्ति जनाएको छ । उक्त पार्टीका सांसद दीपक सिंहले सांसद शाहीलाई ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले एमाले सांसद पन्तले गलत इतिहास सुनाएर आफ्ना पार्टीका सांसद शाहीलाई अपशब्द बोलेको आरोप पनि लगाए।
उनले भने ‘हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईँ, मिस्टर भनेर सम्बोधन भयो, सदनमा मर्यादाहीन भएर पेस हुनु गैरजिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ।, सांसद सिंहले सांसद पन्तलाई सचेत हुन आग्रह समेत गरेका छन्।
हिजोको बैठकमा सांसद शाहीलाई पन्तले तिमि र मिस्टर जस्ता शब्द प्रयोग गर्दै बहस गर्ने भए इतिहास पढेर आउन चुनौती दिएका थिए। उनले हा हु गरे जुम्लाबाट चुनाव जितेको र इतिहासबारे शाहीलाई ज्ञान नभएको बताएका थिए।