राजनीति

राजावादीको आन्दोलनबाट सतर्क बन्नुपर्छ: वरिष्ठ नेता डा. कोइराला 

४ चैत, काठमाडौँ ।  नेपाली काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले राजावादीको आन्दोलनबाट आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्। आज  आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तर सतर्क बन्नुपर्ने धारणा राखेका हुन्। 

उनले सतर्क हुने भनेको राम्रो काम गर्ने हो भन्दै  फर्कनलाई कोसिस जसले पनि गर्छ तर सतर्क बन्नुपर्ने नेता कोइरालाले बताए । 

आफू पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको बताउँदै उनले भने,‘हामी आत्तिइहाल्नुपर्ने अवस्था छैन, तर सतर्क बन्नुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो ।’

राजतन्त्र फर्कनेमा अलिकति पनि विश्वास नरहेको भन्दै  नेता कोइरालाले भने  ‘बागमतीमा धेरै पानी बगिसक्यो, मलाई चाहिँ लाग्दैन राजा फर्कनुहुन्छ भन्ने, तर कोसिस त जहाँ पनि हुन्छ, सतर्क बन्नु पर्छ।’

राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको नेता कोइरालाको भनाइ छ।  उनले अघि भने,‘हामीले के गर्‍यौँ गरेनौँ भन्ने कुरा महत्त्वपूर्ण हो । केही गरेनौँ भन्ने होइन, धेरै गरेका छौँ, जनताको आकाङ्क्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौँ, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो ।’

राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको कोइरालाको दाबी छ।