राजनीति

ओली सरकारमा जाने माओबादीको कुनै नीति छैनः अध्यक्ष दाहाल

४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

जनता समाजवादी पार्टी जसपा, सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल, सङ्घवादया सिद्धान्त व नेवाः म्हसीका’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पूर्णसमानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व र सुशासन दिन नसक्ने बताए ।

“अहिलेका घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । देशमा जस्तो राजनीतिक घटनाक्रम देखा पर्दैछ, यसले शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूल नबनाउँदासम्म यस्ता राजनीतिक घटनाक्रम बारम्बार आइरहने छन्”, अध्यक्ष दाहालले भने ।

सांसदहरू मध्येबाटै मन्त्रिमण्डल बनाउने प्रणालीले विभिन्न विकृति निम्त्याइरहेको र भ्रष्टाचार संस्थागत हुँदै जाने अवस्था देखिएको उनको भनाइ छ । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएमात्रै राजनीतिक स्थायित्वसँगै जनताको आकाङ्क्षा सम्बोधन हुने जिकिर गरे ।

उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी दस्ताबेजमा उल्लेख गर्ने र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगको निर्णय गरेर नेवाः पहिचानलाई अगाडि बढाइएको बताए ।

‘सरकारमा जाने कुनै नीति छैन’

अध्यक्ष दाहालले आफ्नो पार्टीले अहिले सरकारमा जाने नीति नलिएको स्पष्ट पारे । “देशमा सङ्कट आयो भने त्यसलाई कसरी समाधान गर्ने भन्ने विचार दिन्छौँ तर यही सरकारमा सहभागी हुने कुनै नीति छैन”, उनले भने ।

अध्यक्ष दाहालले सत्तारुढ दलसँग सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडो टुङ्ग्याउन छलफल भए पनि सरकारबारे कुनै संवाद नभएको बताए ।