६ चैत, निजगढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन्।
बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”
दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।
दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । चितवन हुँदै सिमरा आइपुगेका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।