राजनीति

जब प्रचण्डले महेन्द्र मोरङ क्याम्पसको नवनिर्वाचित स्ववियु सभापतिलाई फोन गरेर भने…!

८ चैत, काठमाडौँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेर बधाई दिएका छन् । अध्यक्ष दाहालले महेन्द्र मोरङ क्याम्पसमा विजयी हुनु भनेको इतिहास रच्नु हो भन्दै फोन गरेर यादवलाई बधाई दिएका हुन् ।

 रोहितले अध्यक्ष दाहाल मोरङमा प्रवेश गरेकै दिन आफूलाई अगाडी नै जितको महसुस भएको खुलेर बताए ।  दाहाल तराई-मधेस हुलाकी मार्ग जागरण अभियानका क्रममा गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए । 

टेलिफोन संवादमा दाहालले भने ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो, देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौँ ।’

यादव १ हजार १ सय १८ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका उम्मेदवार प्रज्वलजंग विष्टले १ हजार ७५ मत प्राप्त गरेका थिए । महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए ।

त्रिभुवन विश्वविद्यालयको तीन आङ्गिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीन वटै आङ्गिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ । नेविसंघले ३ र अनेरास्ववियुले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।