९ चैत, ताप्लेजुङ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ताबाट टुङ्ग्याउनु पर्ने धारणा राखेका छन् । आज फक्ताङलुङ गाउँ कमिटीको पालिका अधिवेशनका लागि ताप्लेजुङ पुगेका पूर्वमन्त्री समेत रहेका शर्माले आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
शर्माले केबलकार विवाद समाधानका लागि सरकारले गरेको वार्ताको पहललाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। ‘सरकारले वार्ताको पहल गरिरहेको पाएको छु,’ शर्माले भने, ‘यसको समाधान वार्ता र संवादबाटै निकाल्नुपर्छ र छिट्टै टुङ्ग्याउनु पर्छ।’
विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिरहेको व्यवहार गलत भएको शर्माको भनाइ छ। उनले भने, ‘हाम्रोमा कसले कहिले नियुक्ति गर्यो भनेर अनावश्यक टिप्पणी गरिन्छ,’ उनले भने, ‘यो राम्रो प्रवृत्ति होइन। राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ।’





