९ चैत, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र भूत भएको बताएका छन्।
आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अब देश पछाडि फर्कन नसक्ने दाबी समेत गरे।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई पार्टीको प्रथम महाधिवेशनअन्तर्गतको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन गर्न जनकपुर पुगेका हुन्। उनले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका थिए।
‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौँदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्। तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ’, उनले भने,।
‘राजतन्त्र भूत हो। भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्। जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’ भट्टराईले भने।
राजा र राणाहरूका पालामा आजभन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको अध्यक्ष भट्टराईको भनाइ छ।
पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको बताए।