सूचना प्रविधि

कालिकोटदेखि मुगुसम्म अप्टिकल फाइबर विस्तार, दूरसञ्चार सेवामा सुधार

१२ चैत, काठमाडौँ । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरेको छ। यस परियोजनासँगै उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा आएको छ, जसले दुर्गम क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले दुर्गम भेगमा टेलिकम सेवाको स्तरोन्नति गर्ने आफ्नो लक्ष्य अनुसार मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको क्षमता वृद्धि गर्दै आएको छ। कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लाका बासिन्दाले अब गुणस्तरीय दूरसञ्चार सेवा प्राप्त गर्न सक्नेछन्। साथै, भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिहरूका लागि समेत महत्वपूर्ण पूर्वाधार तयार भएको टेलिकमले जनाएको छ।

यसअघि Microwave Radio Link मार्फत सञ्चालनमा रहेका इन्टरनेट तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरू, साथै NtTV ब्रान्डको टेलिभिजन सेवा अब अप्टिकल फाइबर प्रविधिमा आधारित भएर सञ्चालनमा ल्याइएको छ। नेपाल टेलिकमका अनुसार २०८१ चैत ८ गते बाट यो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सेवा विस्तारपछि उक्त क्षेत्रका उपभोक्ताले अझ स्तरीय र स्थिर इन्टरनेट तथा टेलिकम सेवा पाउनेछन्। साथै, दूरसञ्चार सेवा अवरुद्ध हुने समस्या कम गर्न Transmission route को वैकल्पिक मार्ग समेत स्थापना गरिएको छ, जसले निरन्तर सेवा प्रवाहको सुनिश्चितता दिनेछ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमार्फत सहज सेवा प्रदान गर्ने उद्देश्यसहित भौगोलिक चुनौतीहरूलाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीलाई डिजिटल रूपले जोड्न प्रतिबद्ध रहेको जनाएको छ।