शिक्षा

गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी

१२ चैत, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताएकी छन्। दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ वितरण समारोहमा उनले मुलुकको आन्तरिक आवश्यकता पूरा गर्न तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनका लागि व्यवहारिक, प्राविधिक र नवप्रवर्द्धनात्मक शिक्षाको खाँचो औँल्याईन् ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधनको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन वृद्धि तथा रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सुदृढ बनाउनु अति आवश्यक भएको धारणा राखिन् । “यसका लागि प्रभावकारी व्यवस्थापन, क्षमतावान दक्ष जनशक्तिको आवश्यकता छ । नवीन सोच, आधुनिक प्रविधिको प्रयोग र व्यावसायिक क्षमता भएका जनशक्तिले मात्र उत्पादन वृद्धि गर्दै दिगो आर्थिक विकासलाई सुनिश्चित गर्न सक्छ”, उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा प्रणालीलाई समयानुकूल सुधार गर्दै स्रोत व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन गर्न शिक्षालाई उत्पादनसँग जोड्न सबै सरो कार भएकाको ध्यानाकर्षण गराईन् । उनले एक गैरसरकारी संस्थाले अन्तरराष्ट्रिय पुरस्कारबापत प्राप्त रकमबाट यस प्रकारको पुरस्कार स्थापना गरी दिगो विकास लक्ष्य हासिल गर्न गुणस्तरीय शिक्षा प्रवर्द्धनमा पु¥याएको योगदान सराहनीय रहेको बताईन् । पूर्वराष्ट्रपति भण्डारीले अगाडि भनिन्, “नेपालले दिगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षामा विशेष प्रतिबद्धता जाहेर गरेको छ । सोही लक्ष्यअनुरुप सबै नागरिकलाई समावेशी, समान र जीवनोपयोगी शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ । तसर्थ, गुणस्तरीय शिक्षाबारे नेपालले जाहेर गरेको प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वयात्मक सहकार्य आवश्यक छ ।”