पर्यटन/संस्कृति

पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्च अदालतको आदेश

१७ चैत, काठमाडौँ ।ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न  सर्वोच्च अदालतले आदेश दिएको छ। सरकार तथा निर्माण कम्पनीका नाममा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

याम बहादुर लिम्बु लगायतले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न भनेको छ। 

गत बुधवार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको थियो। 

निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको हो ।