राजनीति

शिक्षक महासङ्घको माग यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्रीलाई काँग्रेस सांसद परियारको खुल्ला पत्र

१ वैशाख, काठमाडौँ ।  नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले शिक्षक महासङ्घको आन्दोलनलाई यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै खुल्ला पत्र लेखेका हुन्। 

उनले शिक्षक आन्दोलनको माग सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन्। महासङ्घ र सरकारबिच पटक पटक भएको सहमतिबारेमा सरकारलाई स्मरण गराउँदै  महासङ्घको जायज माग प्रति समर्थन जनाएका हुन् । सांसद परियारले लेखेका छन्,’नेपाल शिक्षक महासङ्घसँग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासङ्घले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।’

उनले शिक्षक आन्दोलनलाई सरकारले एक दुई दिन भित्र समाधान नगरे यस विषयलाई काँग्रेसले गम्भीरताका साथ लिनुपर्ने भन्दै पार्टीसँग जोडदार माग गरेका छन्। 

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !

विषय: नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र ।

नेपाल शिक्षक महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको ब्यहोरा अवगत नै छ । नेपाल शिक्षक महासङ्घसँग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासङ्घले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ । 

पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ । 

भोलीबाट २०८२ साल प्रारम्भ हुँदै छ । आम नेपाली जनता नयाँ बर्ष आ-आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षकसाथीहरू माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालीनतालाई कमजोरीकारुपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासङ्घको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली काँग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !

जीवन परियार

प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली काँग्रेस ।