समाचार

शिक्षक आन्दोलनका कारण एसइई परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ

३ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको शैक्षिक हड्तालसहितको शिक्षक आन्दोलनका कारण एसइई परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। विद्यालय शिक्षा ऐनको माग राख्दै चैत २० गतेदेखि देशै भरका सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीहरूले सडक आन्दोलन गरिरहेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने भएको हो। 

 ऐन जारी नहुँदासम्म कुनै पनि शैक्षिक गतिविधि नगर्ने आन्दोलनरत शिक्षकहरूले अडान लिएका छन्। 

चैत ७ गतेबाट सञ्चालन भएको एसइई परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा नियन्त्रण बोर्डले यस अघि नै बताएको थियो तर, शिक्षकहरू एसइईको उत्तर परीक्षा जाँच गर्न गएका छैन। शिक्षा ऐन जारी नभएसम्म कुनै पनि शैक्षिक गतिविधि नगर्ने उनीहरूले बताएका छन्। 

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत शिक्षकहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गरेको थियो तर, पटक पटक उधारो सहमति गरेर सरकारले धोका दिएको भन्दै कानुन बनाएर विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नछोड्ने अडान शिक्षक महासङ्घले लिएको छ। 

सरकारले वैशाख १२ गते संसद्को बर्खे अधिवेशन आह्वानको लागी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। अबको संसद् अधिवेशनबाट शिक्षकका माग पुरा गर्ने सरकारले बताइसकेको छ।