३ वैशाख, काठमाडौँ। सरकार सञ्चालनको लागी बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। सत्तारुढ दल नेपाली काँग्रेसले सरकारको गतिविधिको चर्को आलोचना गरिरहेको बेला आज साँझ बैठक बस्ने भएको हो।
काँग्रेस महामन्त्री गगन थापाले मङ्गलवार भएको एक कार्यक्रममा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै भएको र सरकारको कामको गति सुस्त भएको भन्दै सरकारको आलोचना गरेका थिए।
हिजो मङ्गलवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पनि भेटवार्ता भएको थियो। सोही भेटमा भएको सहमति अनुसार संयन्त्रको बैठक बोलाउने निर्णय भएको बुझिएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
त्यस्तै एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन्।