३ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलन आज १५ औँ दिन पनि जारी रहेको छ। सरकारले पटक पटक उधारो सहमति गरेर झुक्काएको भन्दै शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने महासङ्घको अडान कायम रहेको छ।
आजबाट आन्दोलन झनै आक्रामक बन्ने शिक्षकहरूले बताए अनुसार आज बबरमहल-माइतीघर सडक ठप्प गराएर प्रदर्शन गरेका हुन्। शिक्षकहरूले विभिन्न नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
यता सरकारले भने मङ्गलवार मन्त्रिपरिषद् बैठक राखेर शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो तर, महासङ्घले सरकारको उधारो प्रतिबद्धतालाई अस्वीकार गरिदिएको छ। सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने शिक्षकहरुको भनाइ छ। शिक्षाका महासङ्घले सबै शैक्षिक संस्थामा आम हड्ताल घोषणा गरेर आन्दोलनमा होमिएको हो। यस आन्दोलनका कारण एसइई परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ भने कक्षा १२ को परीक्षासमेत प्रभावित हुने देखिएको छ।