३ वैशाख, बारा। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकार जुन उद्देश्यले बनेको हो त्यो पुरा गर्न नसकेको आरोप लगाएका छन्। उनले वर्तमान सरकारले गर्नु पर्ने भन्दा पनि गर्न नहुने निर्णय गरेको बताएका हुन्।
आज बारामा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले वर्तमान सरकारलाई सफल पार्नुको विकल्प नरहेको बताए। उनले काँग्रेसको नेतृत्वमा सरकार नभए पनि आफ्नो पार्टी सम्मिलित सरकार भएका कारण असफल हुने छुट नभएको बताए।
महामन्त्री थापाले जनताले चाहे अनुसारको काम गर्न सकेमा ८२ साल सफल हुने र कहीँ-कतै झण्डा बोकेर आन्दोलन गरेको देख्न नपर्ने अवस्था बनाउन सकिने धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै थापाले अब पार्टी भित्र काम गर्न सकिन भनेर छुट नपाइने भन्दै डटेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले आगामी ८३ सालको मङ्सिरसम्म पार्टीको महाधिवेशन जसरी पनि गराउनु पर्ने दोहोर्याए। अधिवेशन ८४ को चुनाव पछि धकेल्न खोजेको भन्दै विधान विरोधी काम कसैले गर्न नहुने बताए।