समाचार

सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ : पूर्वउपराष्ट्रपति झा

३ वैशाख, काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन्।

दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याए ।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गरे ।

“प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ”, पूर्वउपराष्ट्रपति झाले भने, “संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।”

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताए।