शिक्षा

दमनले होइन, संवादले आन्दोलनको निकास खोज्न सरकारलाई महामन्त्री थापाको आग्रह

१४ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडपप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्।

समाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गरेका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै हालतमा उचित नहुने स्पष्ट गर्दै उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले लेखेका छन्ः

विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो।

शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

राज्यसँग आग्रह छ – शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।