समाचार

किर्तेपत्र लेख्ने सर्वोच्चका शाखा अधिकृतलाई म्याद थपको तयारी 

१९ वैशाख ,काठमाडौँ। सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थपको लागि अदालत पेस गरिने भएको छ। अनधिकृत पत्र लेखेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागार पुर्‍याउने विष्टलाई थप अनुसन्धानको लागि प्रहरीले आज म्याद लिन लागेको हो। 

उनले अदालतमा विचाराधीन रहेको मुद्दालाई बेवास्ता गर्दै चौधरी विरुद्ध कारागारमा राख्नु भन्ने ब्यहोराको पत्र प्रहरीलाई काटेका थिए। प्रहरीले विष्टविरुद्ध तीन वटा कसुरमा म्याद थप्ने तयारी गरेको हो। 

उनलाई झुट्टा मुद्दा, राष्ट्र सेवकलाई मद्दत ईन्कार साथै किर्ते गरी अनधिकृत पत्र लेखेको आरोपमा म्याद थप गरेर अनुसन्धान गर्न लागेको बताइएको छ।  मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुर विष्टलाई लाग्ने भएको हो।