१० साउन, एजेन्सी । पेरुको मध्य क्षेत्र जुनिनमा बस दुर्घटनामा हुँदा १८ जनाले मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जनाएको हो । एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुई तल्ले बस तार्मा प्रान्तको ताल्का जिल्लाको नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि सोही दुर्घटना भएको जनाइएको छ ।
घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी र स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु बसको संरचनामा च्यापिएका थिए । जसलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको जनाइएको छ ।प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्याएको थियो ।
दुर्घटनाको कारण बारेमा हाल थप अनुसन्धान जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको हो ।





