कर्णाली प्रदेश

हुम्ला-मुगु जोड्ने लोतीखोलामा ‘बेलीब्रिज’ को निमार्ण कार्य सम्पन्न जडान

११ साउन, हुम्ला । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।

४ करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैैसीलेका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको, पुलको ३ दशमलव १५ मिटर उचाइ र ३ वटा प्यानल र तीनवटा डेक राखिएको छ ।

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा परेका थिए । हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षात्मा आएको खोलाले पुल बगाएपछि मानिस समेत तुइनमा तर्न बाध्य भएका थिए ।

हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार निरन्तरको पहलपश्चात बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो ।

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन । अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । यहि साउन १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको हो। चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम ९र्याप थ्री०ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ ।

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ सालको मङ्सिर २३ गते सम्झौता गत असार २२ गते सम्पन्न भएको उक्त बेलीब्रिज करिब ५ महिनामा सम्पन्न भएको हो ।