१२ साउन, काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजी कार्य शुरु गरेको छ ।
गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सोमबार बिहानदेखि गाउँबाटै हराएपछि प्रहरीले खोजी कार्य शुरु गरेको सोही पालिकाका प्रवक्ता रेगनराज थापाले सुर्य खबर डटकमलाई जानकारी दिएका हुन् । घरायसी विवादका कारण उनीहरु हराएको उनले बताएका छन् । हाल प्रहरी र स्थानीय जनप्रतिनिधि घटनास्थलमा पुगेको पनि उनले जानकारी दिएका हुन् ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको हो ।
घटनाको बारेमा सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगेको प्रहरीले बताएको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा र भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा नभएको कार्यालयले जनाएको हो ।
स्थानीय जनप्रतिनिधि लगायत गाउँका स्थानीयवासीन्दासँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको समेत प्रहरीले बताएको छ ।





