१२ साउन, काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् ।
अर्थमन्त्रालयले एमसीसीको यहि साउन ८ गतेको पत्र अनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाउने जनाएको हो । नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेश अनुसार पुनरावलोकनका लागि स्थगित भएको अर्थमन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सोही सम्बन्धमा यहि साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको समेत मन्त्रालयले जनाएको हो ।





