समाचार

नागपञ्चमीको अवसरमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

३ साउन, भक्तपुर,। भक्तपुरको चाँगुनारायण मन्दिरमा मंगलबार बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सोही मन्दिरमा मंगलबार नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो । चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन रहेको छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ ।

मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ । शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पूजारी आभास राजोपाध्यायले जानकारी दिए । शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा रहेको छ ।

चाँगुनारायण मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनैभरी दर्शनार्थीको भीड लाग्ने बताएका हुन्। मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने उनको भनाइ थियो ।

नागपञ्चमी नाग देवतासँग सम्बन्धित भएका कारण मंगलबार दिनैभरी दर्शनार्थीको भीड लाग्ने मूल पूजारी राजोपाध्यायले बताएका छन् ।