समाचार

४ वटा संसदीय समितिको बैठक आज बस्दै

१६ साउन, काठमाडौं । संघीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

निर्धारित समयअनुसार शुक्रबार कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । दिनको २ः३० बजे समितिको कार्यकक्षमा नै बैठक बस्ने भएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे समितिको बैठककक्षमा बस्ने भएको छ । समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुने भएको छ ।