१८ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत २ वटा संसदीय समितिको बैठक आइतबार बस्ने भएका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आइतबार बस्ने संसद सचिवालयले जनाएको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
सोही समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्यांक र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा भने पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुने सचिवालयले जनाएको हो। त्यस्तै, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल हुने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाको बारेमा छलफल गर्ने कार्य सूची रहेको सचिवालयले जनाएको हो ।





