१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान प्रस्थान गर्ने भएका छन् ।
तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार राति ११ बजेर ५५ मिनेट जाँदा त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो । यहि साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका छन् ।
सोही सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको हो । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधि मण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने भएका हुन्। उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्च-पदस्थ सरकारी अधिकारीहरूको समेत सहभागी हुने भएको छ ।
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।





