बाग्मती

मधेशको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाउने मन्त्री यादवको तयारी

२० साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेशको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री यादवले तराई–मधेशको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्नका लागि विभागलाई निर्देशन दिने समेत जानकारी गराएका छ् ।
खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाइ थियो ।

त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी गराएका थिए । आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । मन्त्री यादवको स्पष्ट निर्देशन, मन्त्रालयसहित विभागका कर्मचारीहरुको सहयोगमा विभागले देशैभरी ९० प्रतिशत प्रगति हासिल गरेको उनको भनाइ छ । आगामी दिन थप प्रगति गर्ने समेत उनको धारण थियो ।

सोही कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य र सहसचिव मीना श्रेष्ठले विभागले गत आवमा हासिल गरेको प्रगति प्रति खुशी व्यक्त गरेका थिए। कार्यक्रममा विभागीय निर्देशक, प्राविधिक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।