प्रदेश 1

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ३ दिनदेखि पूर्णरूपमा ठप्प

२० साउन, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ३ दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ ।

फार्मेसीमा कार्यरत कर्मचारीले ७ महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो ।फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन् । २४ सैं घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन् ।

कर्मचारीको धर्नाका कारण विशेष गरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन् । औषधि नपाएपछि बिरामी तथा तिनका आफन्तहरू निजी फार्मेसीमा गएर महँगो मूल्य तिर्न बाध्य भएका हुन् । मोरङको उर्लाबारीबाट श्रीमतीको उपचारका लागि धरान आएका विकास मगरले अस्पतालको फार्मेसीबाट औषधि लिने आशमा आएका अस्पतालमा आएका थिए। तर सेवा बन्द भएको जानकारी पाएपछि बाहिरको मेडिकलबाट महँगोमा औषधि किन्नुपरेको उनको भनाइ छ। उपचारमा ढिलाइ हुनुका साथै आर्थिक भार पनि दोब्बर परेको उनले बताएका थिए ।
प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदै आएको छ । कर्मचारीलाई तलब तथा अन्य सेवासुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि ७ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ । 

तलब तथा सेवा सुविधाको माग गर्दै पटक पटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरूले दावी गरेका छन् । वर्षौंदेखि सेवा दिँदै आए पनि नियमित तलब उपलब्ध नहुँदा परिवारको खर्च चलाउन समस्या भइरहेको भन्दै तलब नआएसम्म काममा फर्किने अवस्था नरहेको आन्दोलनमा सहभागी कर्मचारीहरूले बताएका छन् ।

२०७० साल मंसिर ८ गते केटिएम सर्भिसेजसँग ३ वर्षका लागि सेवा सम्झौता गरिएको थियो । पछि सोही सम्झौताको म्याद थप गरी सेवा निरन्तरता दिइएको थियो । सम्झौता अनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जारी गरिएको विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानुनविपरीत भएको उल्लेख गरेका थिए। विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल, तालाबन्दीजस्ता गतिविधि गर्न कानूनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सुचारु गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ ।

प्रतिष्ठानले सोही घटनाले बिरामीको स्वास्थ्य सेवामा प्रतिकूल असर पुर्याएको र संस्थाको छवि समेत प्रभावित भएको र शीघ्र समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।