प्रदेश 2

सप्तरीमा प्रहरीको गोली लागेर यादवको मृत्युपछि राजबिराजमा स्थानीयको प्रदर्शन, घटनाको निष्पक्ष छानबिनको माग

२१ साउन, काठमाडौं। सप्तरीको राजबिराजमा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन्।

ंगलबार राति भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो । त्यपछि बुधबार बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयवासीले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

कार्यालयले मंगलबार राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जनाएको छ । सोही क्रममा यादवको बायाँ तिघ्रामा गोली लागेर मंगलबार राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोष व्यक्तिको गोलीप्रहार गरी हत्या गरेको स्थानीयको दावी छ। मृतक यादवको शव अस्पतालमा राखिएको प्रहरीले बताएको हो । घटनास्थलको मुचुल्का प्रहरीले अहिलेसम्म उठाएको छैन । आफन्त घटनास्थलको मुचुल्का गर्न तयार भए पोस्टमार्टम हुने प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।