२२ साउन, एजेन्सी । इजरायली सेनाले गाजा पट्टीका विभिन्न क्षेत्रमा आक्रमण गर्दा २० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
बुधबार मध्यरातिदेखि बिहीबार बिहानसम्म सोही आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो । प्यालेस्टिनी समाचार एजेन्सी ९वफा० ले मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको अल–साल्ही टावरको अपार्टमेन्टमा इजरायली सेनाले बम प्रहार गर्दा दुई बालिकासहित ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
गाजाको पश्चिममा रहेको अल–सती शरणार्थी शिविरको एउटा अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य ४ जनाको मृत्यु भएको र र अन्य धेरै घाइते भएको भएको एजेन्सीले जनाएको छ। गाजाको उत्तरमा रहेको शेख रादवान छिमेकमा रहेको पारिवारिक घरमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य घाइते भएका हुन् ।
गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा एक प्यालेस्टिनी पुरुष,उनकी श्रीमती र बच्चाहरू सहरको पश्चिममा रहेको पश्चिमी शिविरमा रहेको उनीहरूको घरमा आक्रमण गर्दा मृत्यु भएका थिए । सहरको पश्चिममा रहेको ड्रिम हल नजिकैको पालमा बम प्रहार हुँदा एक बालिकाको पनि मृत्यु भएको छ ।
खान युनिसको पश्चिममा विस्थापित व्यक्तिहरूको निवासमा इजरायली सेनाले ड्रोनमार्फत बम प्रहार गर्दा दुई प्यालेस्टिनी महिलाको पनि मृत्यु भएको थियो। मध्य गाजाको देइर अल–बलाह सहरमा गत राति इजरायली सेनाले लक्षित गरेपछि सहायताको प्रतिक्षामा रहेका ५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको एजेन्सीले जनाएको छ।





