समाचार

बूढीगण्डकी आयोजनाको निमार्ण कार्य छिटो अगाडि बढाउन ऊर्जामन्त्री खडकाको निर्देशन

२३ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन्। मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत आयोजनालाई छिटो अगाडि बढाउन लाग्नुपर्नेमा जोड दिएका थिए। बूढीगण्डकी जस्तो बृहत र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकाले यसलाई स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिनेगरी अघि बढाउन समेत उनले निर्देशन दिएका हुन् ।

आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उनले बताएका छन्। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रजौरियाको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री खड्काले विश्वास व्यक्त गरेका थिए। आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। 

उनले भनेका छन्,-'१ हजार २ सय मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिंचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ। यो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य तथा उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ ।'

प्रमुख कार्यकारी अधिकृत रजौरियालाई कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव सुरेश आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथग्रहण समारोहमा जलस्रोत तथा सिंचाइ सचिव सरीता दवाडी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो।