स्वास्थ्य

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयः प्रा डा केसीद्वारा २३औँ सत्याग्रह

१५ भदौ, सुदूरपश्चिम। प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आज पत्रकार सम्मेलन गर्दै तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गरे । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए ।

यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न उनको माग गरेका छन् ।

यस्तै, एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा केसीले आग्रह गरे ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगतमा पनि उनी पटकपटक अनशन बसेका थिए।