२४ असोज, चितवन । कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो ।
कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्षअघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी लेयर्स कुखुरा पालक किसान रहेको बताउछन् ।
पछिल्लो समय नेपाल लेयर्स कुखुरा पालक सङ्घमार्फत् किसानलाई सङ्गठित गर्दै आएको समितिका सल्लाहकार कँडेल ८० प्रतिशत किसान विस्थापित भएको बताउछन् । उनले भने, “साना किसान विस्थापित हुनुभयो, जोखिम मोलेर आएका ठूला किसानले बजारको मागलाई धानिरहेका छन् ।”
कँडेलको भनाइमा युक्रेन युद्धपछि दानाको कच्चापदार्थको मूल्य झण्डै दोब्बर बढेको, कुखुरालाई खुवाउने औषधिको मूल्य अस्वाभाविक बढेको, बैंकको ब्याजदर उच्च रहेको भए पनि अण्डाको लागत मूल्यसमेत नपाउँदा धेरै किसान पेसा छाडेर बाहिरिएका हुन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल आफूहरु पेसा छाड्ने वा सङ्घर्ष गर्ने दुई विकल्पमध्ये अन्तिम सङ्घर्षका लागि सङ्घ गठन गरेर देशव्यापी रुपमा बजारीकरणमा जुटेका कारण अण्डाको मूल्य पूर्ववत् अवस्थामा फर्किन थालेको बताउछन् । व्यवसाय छाडेकालाई भन्दा रहेकालाई थप सङ्घर्ष गर्नुपरेको भन्दै उनी अहिले भइरहेका धेरै किसान बैंकको ठूलो ऋणको भार बोकेर व्यवसाय टिकाएको बताउछन् । उनले भने, “अहिले पेशामा रहेका धेरैको सम्पत्तिले बैंकको ऋण पुग्दैन, तैपनि हामी संघर्ष गरिरहेका छौं ।”
देशलाई यो क्षेत्रमा आत्मनिर्भर बनाउन आफूहरु जुटिरहेको भए पनि राज्यले उचित सहयोग नगरेको उनको गुनासो छ । पछिल्लो समय अण्डाले लागत मूल्य पाए पनि कुखुरा पाल्नसक्ने अवस्थामा धेरै नरहेको उनी बताउछन् ।
पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने सरकारले नीतिगत सम्बोधन गर्नसकेमा र खुला सीमाबाट आयात हुने अवैध पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गरेमा अहिलेसम्म टिकेका व्यवसायी अघि बढ्नसक्ने उनी बताउछन् । उनले भने, “सरकारले हाम्रा मागलाई सम्बोधन गर्नसक्यो भने आत्मनिर्भर बनाउन सक्छौँ ।” नेपालमा अण्डा उत्पादन क्षेत्रमा निजी क्षेत्रको रु एक खर्ब बढी लगानी रहेको छ ।
अण्डा दिवसमा दुई लाखभन्दा बढी अण्डा वितरण गरिँदै
विश्व अण्डा दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा दुई लाख २५ हजारभन्दा बढी अण्डा वितरण गरेर मनाइँदै छ । दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा निःशुल्क अण्डा वितरण गर्न लागिएको हो ।
सन् २०२५ को विश्व अण्डा दिवस नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल भेटेरिनरी एशोसिएसनको संयुक्त आयोजना तथा नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशको सहआयोजना एवं युसेकको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसर पारेर बिहीबारदेखि देशका विभिन्न सामुदायिक विद्यालय, अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवा, आश्रयस्थलमा आश्रित लगायतलाई निःशुल्क अण्डा वितरण गरिने कार्यक्रम संयोजक त्रिलोचन कँडेलले बताए ।
उनका अनुसार विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै अण्डा उत्पादकले सन् १९९६ मा विश्व अण्डा आयोग स्थापना भएको र प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने गरिन्छ । आज चितवनको भरतपुरमा २९औँ विश्व अण्डा दिवसको औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ । औपचारिक कार्यक्रम समापन भए पनि अण्डा वितरण कार्यक्रम भने एक सातासम्म निरन्तर सञ्चालन हुने कँडेलले जानकारी दिए ।
उनका अनुसार चितवन, नवलपरासी, दाङ, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सुनसरी, मकवानपुर, कास्की, पर्सालगायतका जिल्लामा कार्यक्रमको आयोजना गरी अण्डा वितरण गरिँदैछ । उनका अनुसार अहिलेको बजार मूल्यअनुसार रु ५० लाखभन्दा बढीको अण्डा वितरण गर्ने कार्यक्रम छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष पोखरेलका अनुसार दिवसका अवसरमा पोल्ट्री क्षेत्रका नीतिगत समस्याका बारेमा सरकारी र निजी क्षेत्रका व्यवसायीबीच अन्तरक्रिया तथा गोष्ठीको आयोजना गर्ने, पोल्ट्री व्यवसायका चुनौती र अवसरका बारेमा गोष्ठी गर्ने कार्यक्रम रहेको छ । उनले भने, “सरकारी निकायका प्रतिनिधिहरुसँग हामी समस्या राख्दैछौँ ।” पछिल्ला वर्षमा कुखुरा पालन व्यवसाय धरासायी हुँदै गएको जनाउँदै उनले यो व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
अहिलेको अवस्थामा अण्डाको महत्व र खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थमा प्रोटिनको महत्वबारेमा विज्ञ चिकित्सकमार्फत आमनागरिकमा सन्देश पु¥याउने उद्देश्य राखिएको छ । पोल्ट्री क्षेत्रले देशको कूल गार्हस्थ उत्पादनमा करिब तीन दशमलव पाँच प्रतिशत योगदान दिनुका साथै पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको उनको भनाइ छ । देशको एक आत्मनिर्भर व्यवसायका रुपमा स्थापित पोल्ट्री व्यवसाय हो । नेपालमा हाल दैनिक ४५ देखि ४६ लाख वटा अण्डा उत्पादन भइरहेको छ ।
नेपाल भेटेरीनरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष डा निमेश खनालले मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन तथा खनिज तत्वले भरीपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको बताए । अण्डाको नियमित उपभोगबाट स्वास्थ्यका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार भएको अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उहाँको भनाइ छ ।
अण्डामा एन्टी अक्सिडेन्ट पाइने जनाउँदै उनले अण्डाले बुढ्यौली र हृदयघातसमेत रोक्न मद्दत गर्ने बताए । उनले भने, “नियमित अण्डाको उपभोगले आँखाको शक्ति बढ्ने र मोतियाविन्दुको रोकथाम हुन्छ ।” अण्डामा प्रशस्तमात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत हुने डा खनाल बताउछन् । उनले भने, “अण्डाले रक्त अल्पताबाट बचाउँछ, रोग प्रतिरोधी क्षमता बढाउँछ, जवानीपन र स्मरण शक्ति बढाउँछ ।” तौललाई सन्तुलनमा राख्नसमेत अण्डाले भूमिका खेल्ने उनको भनाइ छ ।




