समाचार

बालेन्द्र शाहको दबाबबारे प्रधानमन्त्री कार्यालयले दियो स्पष्ट उत्तर

कार्तिक १३, काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालय, बालुवाटारले हाल केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न समाचार माध्यमहरूमा फैलिरहेको समाचारलाई खण्डन गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्याललाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को दबाबमा हटाउन लागिएको कुरा असत्य र भ्रमपूर्ण भएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट आज जारी विज्ञप्तिमा भनिएको छ कि कसैलाई मन्त्री बनाउने वा हटाउने विषय पूर्ण रूपमा सम्माननीय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्छ, र कुनै पनि व्यक्तिको दवाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट व्यक्त जनादेश अनुसार यो सरकार गठन भएको हो । गृहमन्त्री अर्यालले आगामी निर्वाचनको तयारी, शान्ति–सुरक्षा कायम राख्ने कार्य तथा सुरक्षा निकायहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनु भएको कुरा सबैलाई विदितै छ।” प्रधानमन्त्री सचिवालयले यस्तो संवेदनशील समयमा यस्ता अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह पनि गरेको छ।