कार्तिक १३, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले भारततर्फ निर्यात हुँदै आएको २८३ मेगावाट विद्युत्को अनुमति पुनः नवीकरण गरेको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बाट अनुमति नवीकरणसँगै नेपालले आगामी एक वर्षसम्म भारतमा विद्युत् पठाउन पाउने भएको हो।
चार विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् अब भारतीय ‘इलेक्ट्रिसिटी एक्सचेन्ज’ (आईएक्स) बजारमार्फत र केही द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा तथा बिहार राज्यमा निर्यात हुनेछ।
विद्युत् प्राधिकरणका अनुसार यसअघि सकिएको अनुमति अवधि पूरा भएपछि पुनः स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाइएको थियो। भारतको स्वीकृतिपछि हाल उक्त प्रक्रिया सम्पन्न भई निर्यात निरन्तरता पाउने बाटो खुलेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले यसअघि भारतका समकक्षीसँग विद्युत् व्यापारमा देखिएका प्राविधिक तथा नीतिगत अड्चन हटाई प्रक्रिया सरल बनाउन आग्रह गरेका थिए।
प्राधिकरणले अब नवीकरणसँगै विद्युत् बिक्रीमार्फत राजस्व वृद्धि, बजार विस्तार र ऊर्जा कूटनीतिलाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।





