१५ कात्तिक, धरान । नेपाली कांग्रेसले आप्mनो टोल र वडा तहको संगठनलाई मजबुद, गतिशिल, चुस्त र दुरुस्त बनाउन तथा कार्यकर्ताहरुमा राजनीतिक एवम् सामाजिक जागरण ल्याउन मिसन रुट सशक्तिकरण नामक कार्यक्रम मार्फत अन्तर संवाद अभियान चलाउने भएको छ । अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गतका धरान उपमहानगर, बराहक्षेत्र र रामधुनी नगर गरी २७ सै वडामा सञ्चालन हुने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएका छन् ।
सुनसरी क्षेत्र नं. १ अन्तर्गतका कांग्रेसको प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना, प्रदेशसभा तथा पालिका कार्यसमितिको समन्वय र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा अभियान सञ्चालन हुन लागेको हो ।
मिसन रुट सशक्तिकरण नाम दिइएको उक्त कार्यक्रममा पार्टीका वडामा रहेका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, टोल कार्यसमिति र क्रियाशील सदस्यहरुसंग प्रत्यक्ष अन्तर संवाद गरिने बताईएको छ ।
कार्यक्रममा आगामी निर्वाचनमा युवा पुस्ताको सहभागितालाई सुनिश्चित गर्र्न, पार्टीको १५औं महाधिवेशन समयमा गर्न क्रियाशील सदस्यको नविकरण गर्न, गत भदौ २४ गते जेनजीको नाममा अराजक समुहले तोडफोड गरेको धरानस्थित प्रतिनिधिसभा, प्रदेशसभा र नगरको संयुक्त पार्टी कार्यालय पुनःनिर्माण गर्न, पार्टीमा आमूल रुपान्तरण ल्याउन, संगठनको सुदृढिकरण तथा पार्टीमा शुद्धिकरण गर्न र आम कार्यकर्तामा उत्साह र मनोवल अभिवृद्धि गरी व्यापक जागरण ल्याउन विशेष जोड दिइने जनाईएको छ ।
अभियानवाट गत भदौ २३ र २४ गते पछिका उत्पन्न भएको असहज, तरल र अन्यौलपूर्ण राष्ट्रिय राजनीति र पार्टीभित्र रुपान्तरण हुनुपर्ने, नियमित वा विशेष महाधिवेशन हुनुपर्ने लगायतका विषयमा भईरहेको वैचारिक मतभेदका कारण तल्लो तहका कार्यकर्तामा मौलाएको निराशा र उदासिनतालाई आशा र उत्साहमा परिणत गर्न मद्दत पुग्ने विश्वास लिईएको छ ।
निर्वाचनले मात्र मुलुकलाई विद्यमान राजनीतिक एवम् संवैधानिक संकटवाट मुक्त गराउन सक्ने भएकाले कांग्रेसको यो अभियानवाट फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष र धांधली रहित सम्पन्न गर्न गराउन कार्यकर्ता र जनतामा सचेतना आउने र राज्यको समेत ध्यानाकर्षण भई निर्वाचन पक्षधर सबैमा सकरात्मक सन्देश पुग्ने समेत विश्वास लिइएको छ ।
अभियानमा नेपाली कांग्रेसका केन्द्र देखि टोल तहसम्मका नेता तथा कार्यकर्ता र भातृ एवम् शुभेच्छुक संस्थाका साथीहरुको सहभागिता रहने जनाउंदै सम्बन्धित सबैलाई अभियानमा जोडिन आग्रह गरिएको सभापति तामाङले बताएका छन् ।
मिसन रुट सशक्तिकरण नाम दिईएको अन्तर संवाद अभियान रामधुनी नगरपालिका वडा नं. ६ र ७ मा बक्लौरीवाट शुरु हुने जनाईएको छ ।





