मनोज ज्ञवाली -कविता
……………….
फेसबुकको अदालतमा, हरेक दिन मुद्दा चल्छ,
स्टाटस र कमेन्ट बाटै फैसला को बत्ती बल्छ।
यहाँ प्रमाण खोजिन्न, सत्यको त झन पर्खाइ छैन,
प्रयोगकर्ता नै न्यायाधीश, विवेक त चाहिने नै हैन।
थोरै गल्ती, थुप्रै टिप्पणी, हल्ला बनाउँछन् सबै ठूलै,
साँचो दबिन्छ पोस्टभित्र, झूटो उड्छ हावामा फूलै।
‘…
साझा मंचको सदुपयोग कहाँ ? दुरुपयोग मात्रै कति–कति,
गाली गर्नेलाई हिरो बनाउने गरि किन बिग्रियो हाम्रो मति।
युवाको सोच बिग्रँदै, आक्रोश र निराशामा डुब्दै जाने,
सकारात्मक दृष्टि हराउँदै, हृदय कठोर बन्दै जाने।
थाहा छैन कसको पीडा, कसको कथा – तथ्य के हो,
अभियुक्त यसै नी बन्छ, फेसबुके अदालतमा जे हो।
कर्मयोगीलाई सम्मान गरौ, मनमा राखौ योगदान,
तिरस्कार गरौ गलत प्रवृत्ति, नदिउँ है क्षमादान।
ओ साथी हो, सोच बदलौं, पोस्ट गर्नु अघि एकछिन सोचौं,
सत्य बोलौं, सकारात्मक सोचौं, लेख्न अघी प्रमाण खोजौं।
सञ्जाल होइन हतियार हो यो, जतनले हामी चलाऊँ,
सत्य तथ्य आउनै पर्छ, तर नकारात्मकता पुरै जलाऊँ।
१५ कार्तिक , २०८२
धापासी
(कवि ज्ञवाली नेबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।)





