उर्जा

उद्योगको लाइन काटिएको समस्यामा मध्यमार्गी समाधान खोज्दै महासंघ

१८ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा काटिएका बिजुली लाइन पुनः जडान गर्न पहल थालेको छ।
समस्याको दीर्घकालीन समाधानका लागि महासंघले सरकारसँग मध्यमार्गी सहमतिको प्रयास गरेको जनाएको हो।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूको समस्या समाधान गर्न सरकारसँग संवाद गरिएको जानकारी दिए। उनका अनुसार महासंघले काटिएको लाइन पुनः जडान गर्ने, धरौटीका रूपमा एक किस्ता तिर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने गरी सहमति गरिएको हो।

अध्यक्ष ढकालले महासंघ कुनै न्यायिक निकाय नभएकाले यो सहमति कानुनी टुंगो नभई समस्याको अस्थायी समाधानका रूपमा लिनुपर्ने स्पष्ट पारे। उनले सोमबार प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूसँग भएको छलफलमा यही प्रस्ताव प्रस्तुत गरिएको बताए। उनका अनुसार उक्त निर्णय हाल मौखिक रूपमा मात्र सहमति भएको छ।