२० कात्तिक, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तोष व्यक्त गर्दै उनलाई ‘अलोकप्रिय’ मन्त्रीको संज्ञा दिएका छन्। उनले जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरेको आरोप लगाउँदै अर्याल राष्ट्रप्रति अपमानजनक ढंगले पदमा टाँसिएको टिप्पणी गरे।
‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भनको सुन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।’
गुरुङले २०८४ को चुनाव २०८२ मा सार्न आन्दोलन नभएको स्पष्ट गर्दै जनताको माग सम्बोधन नभए चुनाव हुन नदिने चेतावनी पनि दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर गृहमन्त्रीमा टिकिरहन नपाउने चेतावनीसमेत दिएका छन्।






