५ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक मंगलबार साँझ भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो। उनी सवार मोटरसाइकललाई भारतको डब्लूबी ५९ सी ०२४८ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ जाँदै गरेको उक्त ट्रकले सोही दिशामा गइरहेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रोहिताको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालक ५७ वर्षीय विमल कोइराला सामान्य घाइते भएका छन्। उनी मृतक रोहिताका श्रीमान् हुन्।
दुर्घटनापछि ट्रक र चालक भारत बिहारको बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।





