समाचार

‘गैरदलिय सरकार भन्दै पार्टी खोल्ने मन्त्री ? पोखरेलको प्रधानमन्त्रीलाई कडा प्रश्न’

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको ‘निर्वाचनका लागि गैरदलिय सरकार’ भन्ने दाबी नै खण्डित भएको आरोप लगाउँदै एमाले महासचिव शंकर पोखरेलले मन्त्री पदको नैतिकता र योग्यतामाथि गम्भीर प्रश्न उठाएका छन्।

पोखरेलले आफ्नो फेसबुक पेजमार्फत एक व्यक्तिले स्वयं पार्टी गठन गरेर चुनावमा सहभागिता घोषणा गरिसकेपछि पनि उनलाई मन्त्रीका रूपमा राखिराख्नु प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल नखाने टिप्पणी गरेका छन्।

उनका अनुसार गैरदलिय सरकार बनाउने भनिन्, तर पार्टी खडा गरेर चुनावमा जाँदै गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नै नैतिक रूपमा अस्वीकृत छ।

पोखरेलले लेखेका छन्, “प्रधानमन्त्रीले गैरदलिय सरकारको नाममा जनतालाई आश्वासन दिइन्। तर पार्टी बनाएर चुनावमा उत्रिँदै गरेको व्यक्तिलाई मन्त्री बनाइराख्नु नैतिक दृष्टिले अयोग्य काम हो। यदि यस्तो व्यक्ति मन्त्री पदमै बसिरह्यो भने प्रधानमन्त्रीको प्रतिवद्धता प्रश्नचिह्नमा पर्छ।”

उनले प्रधानमन्त्रीलाई सोही मन्त्रीलाई तत्काल पदबाट बिदा गर्न आग्रह समेत गरेका छन्।

यो अभिव्यक्तिले आगामी चुनावी वातावरणमा सरकार तथा मन्त्रीपरिषद्को संरचनाबारे नयाँ बहस सुरु भएको छ।