राजनीति

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्नेगरी निर्वाचनमा जानुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

२८ कात्तिक, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नागरिक समूहले आज काठमाडौँमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उहाँले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधन कठिन हुने टिप्पणी गरे । वर्तमान अवस्थाको निकास राष्ट्रिय सहमति नै भएकाले सबै पक्ष त्यसतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता डा आस्था दाहालले संविधानले सुनिश्चित गरेको मतदान अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै देश–विदेश जहाँ बसेका भए पनि नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले राजनीतिक परिवर्तनका चर्चा पर्याप्त भइसकेकाले अब मुलुकले आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताए । उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग अनिवार्य रहेको उल्लेख गदै उनले आर्थिक स्थिरताका आधारहरू मजबुत बनाउनुपर्नेमा जोड दिए ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले हरेक संस्थामा राजनीतिक भागबन्डा लगाइँदा आजको अवस्था सिर्जना भएको दाबी गर्नुभयो । अबको सरकार जनप्रतिनिधिलाई यथाशीघ्र हस्तान्तरण गर्ने गरी छिटो निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।

जेनजी अभियन्ता मिराज ढुङ्गानाले जनताको चाहना एकातिर र सरकारको ध्यान अर्कोतिर रहेको आरोप लगाउँदै जनताले अहिले सुशासनलाई प्राथमिकता दिइरहेकाले सरकारले त्यसअनुसार काम गर्नुपर्ने धारणा राखे।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जेनजी समूह विखण्डित भएर भन्दा एकीकृत भएर अघि बढ्दा परिवर्तनका उपलब्धि जोगाउन सकिने बताए । नागरिक समाजका संस्थापक अध्यक्ष निगम हुमागाईंले जेनजीका माग सम्बोधन हुने गरी निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए। पत्रकार तथा लेखक घनश्याम खड्काले एक–अर्काप्रतिको नकारात्मक सोच त्याग्न सकेमा मात्र सकारात्मक परिणाम हासिल हुन सक्ने बताए ।