आर्थिक

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा: अध्यक्ष ढकाल

२९ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए ।

“महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको छ, श्रम समस्या होस् वा डेडिकेटेड ट्रङ्कलाइन विवादको विषय । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायत उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी समाधानको प्रयत्न गरेका छौँ”, उनले भने ।

उनले त्यसका लागि महासङ्घको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरु र त्यसका सदस्यहरुको सहभागितामा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।