३० कात्तिक, महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्याए, “तिम्रो छोरा अब यस संसारमा रहेन ।”
सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो ।
बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन ।
“अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो”, कैलीदेवीले सुनाए ।
कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुगेकी थिइन् । छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौँ पठाएको उनले बताए । अहिले उनी कान्छो छोरा सन्दीपसँग काठमाडौँ सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहेकी छिन् । “छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन”, उनले सुनाइन्, “सुभास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो ।”
सुभासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौँ गएकी थिइन् । अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भनेकी छिन् । “छोरा पढाउने जिम्मा एक जना म्याडमले लिएको छ, बाँकी अहिलेसम्म सञ्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन”, उनले भने, “हामी आमाछोरा टुहुरा जस्तै भएर बसेका छौँ ।”
काठमाडौँमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ । डेरा भाडा मासिक रु छ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन ।
कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उनका श्रीमान् दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्थे । एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैन । श्रीमान् हराएपछि उनीआफैँ मजदुरी गर्न बैङ्ग्लोर पुगेकी थिइन् ।
“दश महिना बैङ्ग्लोरकमा घरघरमा पुगेर भाडामाझे, महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुभासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो”, उनहाँले भने । पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरामात्रै छन् । आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ । अहिले उनी काठमाडौँमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै हुनुहुन्छ ।
भीमराज सहिद बन्दा व्यवसाय चौपट
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेर बझाङ दुर्गाथली गाउँपालिका–१ का २८ वर्षीय भीमराज धामीले सहादत प्राप्त गरे ।
छ वर्षदेखि कीर्तिपुरमा गाईफार्म र डेरी सञ्चालन गर्दै आएका धामी आठ दाजुभाइमध्येका कान्छा हुन् । सहिद धामीका दाजु दुर्गाथली गाउँपालिका–१ का वडाध्यक्ष अम्मरराज धामीले भाइको निधनपछि परिवारमा पहिरो गएको बताउछन् ।
“तीन महिनाको दूधे बालक छोडेर भाइ भीम सदाका लागि कालीमाटीमा अस्तायो”, वडाध्यक्ष धामीले भने, “कोरिया जाने योजनामा काठमाडौँ गएको थियो, जाने निश्चित नभएपछि कीर्तिपुरमा व्यवसाय सञ्चालन गरिएको थियो ।”
भीमराजले सञ्चालन गरेको गाईफार्म र डेरी चलाउन अहिले सकस भइरहेको छ । “करिब रु ५० लाख व्यवसायमा लगाएको थिएँ, घटनापछि सबै चौपट भयो, यता परिवारको विचल्ली उता व्यवसाय सञ्चालनमा समस्या भयो”, उनले भने र
भाइलाई सरकारले सहिद घोषणा गरेर क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको बताए। सरकारले जेनजी आन्दोलनका क्रममा सहिद बनेका मृतकका परिवारलाई रु १० लाख दिने घोषणा गरेको छ ।





