समाचार

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु

४ मंसिर, धनुषा । जनकपुरधामको सांस्कृतिक पहिचान बनिसकेको सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि औपचारिक रूपमा शुरु भएको छ। सप्ताहव्यापी रूपमा आयोजना हुने यस धार्मिक पर्वको पहिलो दिन ‘नगरदर्शन’ कार्यक्रम सम्पन्न हुँदैछ।

महोत्सवअन्तर्गत ५ गते फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवासहित कार्यक्रम सम्पन्न गर्दै पर्व समापन गरिनेछ।

जनकपुरधामका मुख्य धार्मिक स्थलहरू जानकी मन्दिर, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा अहिले तयारी तीव्र गतिमा चलिरहेको छ। सरसफाइ, पण्डाल निर्माण, सडक–गल्लीहरूमा सजावटी बत्ती जडानलगायतका काम अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।

विवाह पञ्चमीका अधिकांश मुख्य कार्यक्रम जानकी मन्दिर र रङ्गभूमि मैदानमै केन्द्रित हुनेछन्। प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपालका विभिन्न ठाउँ र भारतका विशेषगरी अयोध्या, ऋषिकेश, हरिद्वार लगायत क्षेत्रबाट—लाखौँ भक्तजन, साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु–भिक्षुणीहरूको आगमन हुने जनाइन्छ।

यो महोत्सवले मिथिलाञ्चललाई सांस्कृतिक राजधानीको रूपमा परिचित गराउँदै नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउँदै आएको जानकारहरू बताउँछन्।

तर, यस वर्ष भने सरकारी स्तरबाट कुनै आर्थिक वा व्यवस्थापकीय सहयोग नपाएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दुःख व्यक्त गरेका छन्।

उता, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको र भीड व्यवस्थापनदेखि सवारी चाप नियन्त्रणसम्मका उपाय कडाइका साथ लागू गर्ने तयारी गरिएको बताए।