४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न भइरहेको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । बुधबारदेखि देखिएको घटनाक्रमबारे ध्यानाकर्षण गराउँदै आयोगले अवस्था सामान्य बनाउन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा अभिव्यक्ति तथा विचारको स्वतन्त्रता सुनिश्चित गर्ने वातावरण बनाउन सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख छ । साथै, घटनाको निष्पक्ष छानबिन, घाइतेहरूको प्रभावकारी उपचार तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिइएको छ ।
आयोगले सबै पक्ष संयमित रहन र स्थिति थप जटिल नबनाउन सहयोग गर्नु पर्नेमा जोड दिँदै, हाल भइरहेको घटनाको अनुगमन गरिरहेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन् ।





