राजनीति

व्यापक आलोचना पछि प्रधानमन्त्रीको सचिवालय कटौति, अब ६ जनामात्र

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयको संख्या कटौति भएको छ ।

सचिवालयमा ६ जना मात्र कायम राखी बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सह ससचिव हेमराज अर्यालले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहेको भएपनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको व्यहोरा यसअघि सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयबाट विज्ञप्ति मार्फत स्पष्ट पारिसकिएको छ ।’, विज्ञप्तीमा भनिएको छ ।

जसअनुसार अब सचिवालयमा मुख्य सल्लाहकार – १, जनसम्पर्क सल्लाहकार – १, प्रमुख स्वकीय सचिव – १, प्रेस संयोजक –१, स्वकीय शाखा अधिकृत ( फोटोग्राफर) – १ र जनस्वास्थ्य विज्ञ ( अवैतनिक) – १ मात्र रहेको छ ।