विचार/ब्लग

नेतृत्वमा को आउँछ ? भन्न सकिन्न तर काँग्रेस महाधिवेशन पौष २८ गते हुन्छ, हुन्छ, हुन्छ

बाबुराम आचार्य / नेपाली काँग्रेसको २०८२ साल मङ्सिर १५ गतेको केन्द्रीय समिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्ग्याएको छ, दुई महिना भन्दा बढीकाे आन्तरिक छलफलबाट पार्टीको ऐतिहासिक वडा देखी केन्द्रसम्मको महाधिवेशन पौष १६ गतेदेखि पौष २८ सम्ममा सम्पन्न गर्ने गरी निर्धारण गरेको हो ।

वरिष्ठ नेता डा शेखर कोइराला र महामन्त्री गगन कुमार थापा–विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित नेतृत्वलाई दबाब दिएपछि पटक–पटक बैठक सरे पनि आखिरीमा नियमित महाधिवेशनका लागि आइतबार सहमति जुटी सोमबार (२०८२ साल मङ्सिर १५ गते)को बैठकले महाधिवेशनको विषय टुङ्ग्याएको हो ।

महाधिवेशनबाट को पार्टी सभापतिमा विजयी हुन्छ ? को को पदाधिकारीमा विजयी हुन्छन् ? केन्द्रीय समितिमा को को आउँछन् ? त्यो फरक कुरा हो तर ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले समयमै अधिवेशन गर्न माग गर्दै गरेको हस्ताक्षरको सदुपयोग भएको देखिएको छ, संस्थापन पक्षको महाधिवेशन गर्न आनाकानी गरेको देख्दा र अर्को पक्षले कुनै हालतमा महाधिवेशन गर्न दिएको दबाब देख्दा पार्टी फुटको अन्तिम चरणमा आएको देखिएको भए पनि अन्ततोगत्वा  पार्टी फुटबाट जोगिएको छ । 

फुटबाट जोगाउँदै सातभाई, वरिष्ठ नेता डा कोइराला, गगन–विश्व तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका खेल्ने नेता–कार्यकर्ता, शुभचिन्तक सबैलाई काँग्रेसलाई अगाडी बढाउन भूमिका खेल्दै नियमित  महाधिवेशनको मिति तोक्न सफल हुनुभएकोमा एउटा नेपाली काँग्रेसको इमानदार कायकर्ताको हैसियतले व्यक्तिगत रुपमासमेत धन्यवाद दिनुपर्छ भन्ने मैले ठानेको छु, यसमा सबैभन्दा बढी धन्यवादका पात्र केन्द्रीय सभापति शेरबहादुर देउवा हुन् । 

महामन्त्री गगन थापा, गुरुराज घिमिरेलगायत नेताहरूले नियमित महाधिवेशनमा धोका भए विशेष महाधिवेशनको प्रक्रिया स्थगित नभएको प्रतिक्रिया दिइसकेका छन् । सभापति शेरबहादुर देउवा अधिवेशन गराउने निर्णयमा बिना कुनै हिचकिचाहट अगाडी बढेका देखिएका भए पनि महाधिवेशनको मिति एक वर्षका लागि सार्न केन्द्रीय समिति र उनका समूहका धेरैजसो नेताहरूको ठुलो दबाब देउवालाई छ । पार्टीको बैठकमा जेनजि आन्दोलनपछि शेरबहादुर देउवा उपस्थिति नभए पनि  उनकै सक्रियता र चाहनामा अहिले भइरहेका काँग्रेस महाधिवेशनका गतिविधि र निर्णयहरू भइरहेको सत्य मान्नुपर्दछ । अब नेपाली काँग्रेसका आम नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा महाधिवेशनको तयारी गर्दै प्रचार प्रसारमा लागिसकेका छन् । सामाजिक सञ्जाल रङ्गिएको देख्दा जोकोहीले अनुमान लगाउन सक्छ कि अब काँग्रेसको महाधिवेशन सुरु भइसकेको छ । 

५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको विशेष महाधिवेशनको प्रक्रिया अगाडी बढिसकेको समयमा महाधिवेशन रोकिने सम्भावना थिएन, कानुनी, व्यवहारिक तथा नैतिक हिसाबले रोक्न मिल्ने अवस्था थिएन तर विशेष महाधिवेशनले पार्टीमा गुट बढ्ने सम्भावना रहेको थियो अब नियमित महाधिवेशन गर्ने पार्टीको निर्णयले उक्त महाधिवेशन सम्बन्धी विवाद  टुङ्गिएको छ, टुङ्ग्याइएको छ, यो निर्णय ऐतिहासिक र सत् प्रतिशत स्वागतयोग्य छ, सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकले स्वागत गर्नैपर्छ । जहाँसम्म महामन्त्री गगन थापालगायत नियमित महाधिवेशन समूहले संस्थापन समूहसँग शङ्का गरेको छ त्यो कल्पना कल्पना मात्र सीमित हुनेछ, कल्पना गर्न पाइन्छ, राजनीतिमा एकले अर्कोलाई धोका दिएका असङ्ख्य उदाहरणहरू छन्, नेपाली काँग्रेसमा पनि नेता कार्यकर्ताहरूले अन्य पार्टीबाट भन्दा पनि आफ्नै नेता कार्यकर्ताहरूबाट धोका भएका उदाहरुण प्रशस्त छन् त्यस्तो सोच कसैमा भएमा सचेत गराएका हुन् सक्छन् त्यो पनि पाइन्छन्, मात्र महाधिवेशन यो वा त्यो रूपमा सार्न पाइन्न, अब महाधिवेशनबाट चुनिने विजयी नेतृत्वलाई नमान्न पाइन्न त्यो मात्र महत्त्वपूर्ण कुरा हो ।  । 

जेनजी आन्दोलनअघि र जेनजी आन्दोलनपछिको अन्य पार्टी, व्यावसायिक प्रतिष्ठान, सर्बसाधारणमा मात्र होइन, नेपाली काँग्रेसका लगभग हरेक नेताहरूको सोच परिवर्तन भइसकेको छ, नेपाली काँग्रेसमा नेतृत्व लिने आकाङ्क्षा अब भिजन नभएका, स्वार्थी र पदलोलुपले सक्ने छैनन्, जुन हिजो जेनजी आन्दोलन अगाडी थियो । भूकम्प, नाकाबन्दी बिर्सिएजस्तो नेताहरूका लागि बिर्षन सक्ने खालको आन्दोलन हाेइन जेनजी अान्दाेलन नेताहरुमाथी आक्रमण गरिनु, हातपात गरिनु, मान्छे मारिनु तथा सम्पत्ति आगजनी र तोडफोड गरिनुलाई राम्रो मान्ने अवस्था कुनै कोणबाट पनि रहँदैन तर जेनजी आन्दोलनपछि पद र पैसाका लागि राजनीति गर्ने हो भन्ने प्रकारको सोच भएकाहरूलाई हतोत्साहित गर्ने बलियो हतियारको रुपमा स्थापित भएको कुरालाई भने मान्नैपर्छ, नकार्न सकिन्न। 

आदरणीय नेपाली काँग्रेसका केन्द्रका नेता ज्युहरु, प्रदेशका नेता ज्युहरू, जिल्लाका नेता ज्युहरू, क्षेत्रका नेता ज्युहरू, प्रदेश सभा क्षेत्रका नेता ज्युहरू, नगरका नेता ज्युहरु, वडाका नेता ज्युहरू, टोल टोलका नेता ज्युहरू अब दायाँ बायाँ नलागी १५ औँ महाधिवेशनको तयारीमा लाग्नुहोस्, केन्द्रले नटुङ्ग्याएमा स्थानीय स्तरमा सक्रिय भएर क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउनतिर लाग्नुहोस्, अब महाधिवेशन हुन्न कि भन्ने शङ्का गर्नतिर एकरती पनि नलाग्नुहोस्, महाधिवेशन कसले मागेको भन्दा पनि माग सही थियो पुरा भयो, माग गर्ने र पुरा गर्ने दुबैले एकर्काका व्यक्तिगत कुण्ठालाई त्यागेर, एकजुट भई काँग्रेसलाई महाधिवेशनमय बनाएर बहुमतप्राप्त पार्टी बनाउन अहिलेदेखि नै लाग्नुहोस् । 

लोकतन्त्रमा नेतृत्वलाई जेनजीको आनदोलनको समेत म्याण्डेटले  अनुमोदन गर्ने सबैभन्दा सही उपाय महाधिवेशनभन्दा दायाँ बायाँ गरे जसले दायाँबायाँ कल्पना गर्छ त्यसको पनि  त्यसको राजनीति मात्र होइन सामाजिक रुपमासमेत पराजय हुनसक्छ, १५ औँ महाधिवेशनमा ६० प्रतिशत ४०–५० का युवाहरू केन्द्रीय समितिमा आउनुपर्छ, सकिन्छ भने जेनजी र जेन वाईलाई केही प्रतिशत पार्टीको केन्द्रीय समितिमा प्रवेश गराउने वातावरण बनाउनुपर्छ, काँग्रेसको महाधिवेशन त आन्तरिक नेतृत्व चयन प्रक्रिया हो स्थानीय, प्रदेश तथा प्रतिनिधि सभामा बाह्य रूपमा पार्टीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यसलाई पनि त मध्यनजर गर्नुपर्‍यो नि होइन र ? आम विश्वभर बस्ने पार्टी नेता कार्यकर्ता तथा शुभचिन्तकहरूले काँग्रेस  सबल, सक्षम र असली लोकतान्त्रिक बनाउन, लोकतन्त्रको संस्थागत गर्नतिर लाग्नुपर्ने बेला आयो । काँग्रेसको वडा देखी केन्द्रसम्म, प्रवासदेखि गैरआवाससम्म  जहाँ बसेर पनि  पार्टी बलियो बनाउने काम गर्न सकिन्छ, आम नेपाली काँग्रेसका कार्यकर्तालाई काँग्रेस भएकोमा गर्व हुने खाल्को काँग्रेस निर्माण गर्ने बेला आयो, महाधिवेशनको माग हामीले गरेको हो पुरा गर्न बाध्य भयाैँ भन्ने घमन्डी र हामीले तिमीहरुलाई तत्कालका लागि फसायौँ पछि निर्णय परिवर्तन गर्छौ हेर न भन्ने खालका सोचहरू  महाधिवेशन माग्ने पक्षधर र महाधिवेशनको मिति तोक्न सहमति गर्ने पक्षधरबिच केही द्वन्द्व भएको देखिन्छ ती दुवैलाई पार्टीहीतका सोच होइन मध्यमार्गी महाधिवेशनको बाटोको निर्णयलाई सही मान्दै  महाधिवेशन हुँदैन कि भन्ने कल्पना पनि नगरी नेता बन्न अगाडी बढौँ, जय नेपाल ।